Nepali
Class 10
Subject content
Content tabs
Reading Materials
उज्यालो यात्रा (कवि: रामप्रसाद ज्ञवाली)
कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन घोटिएर सयौंपल्ट दाउरो बन्छ चन्दन । भएमा उच्च सङ्कल्प छैन केही असम्भव सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब ।
जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी । ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
जसका भावना हाँस्छन् मनमा रागिनी भरी जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी । जसका कर्मले लिन्छन् उच्च जीवनका पथ तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव ।
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर संसारमा उठेका छन् तिनैका विजयी शिर । लोभलालचमा छैनन् जसका मनमस्तक जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्यत ।
उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
यस्तो आदर्श यात्रामा कहिले चलूँला नि म ? चन्द्रसूर्य बनी आफैँ कहिले बलूँला नि म ? आफ्नै पौरखले बाटो कहिले खनँला नि म ? सर्वोच्च कविता आफैँ कहिले बनूँला नि म ?
शब्दार्थ
शब्द | अर्थ |
नन्दन | स्वर्गको बगैंचा |
सङ्कल्प | कुनै काम, इच्छा आदि पूरा गर्ने अठोट, दृढ निश्चय |
द्वेष | डाह, शत्रुता |
सौरभ | सुगन्ध, सुवास वा वास्ना |
रागिनी | सङ्गीत शास्त्रअनुसार स्वर र गायन प्रक्रियाद्वारा सुन्दर र आकर्षक ध्वनिको विशेष संयोजन |
मनोहर | मनलाई लोभ्याउने खालको, आकर्षक |
मस्तक | माथ, शिर |
उद्यत | तयार भएको, तत्पर |
उदात्त | महान्, उदार |
पौरख | कमाइ, आर्जन |
कविताको सार
यस कवितामा कर्म, सङ्कल्प, त्याग र प्रेमको महत्त्व देखाइएको छ । निरन्तर परिश्रम र दृढ सङ्कल्पले नै मान्छे महान् बन्छ भन्ने सन्देश कविले दिएका छन् । ईर्ष्या-द्वेष त्यागेर प्रेम बाँड्ने, अरूलाई दिने र न्यायको पक्षमा उभिने मान्छे नै विश्वका लागि आदर्श बन्छन् भन्ने भाव कवितामा व्यक्त भएको छ । अन्त्यमा कवि आफैँ पनि त्यस्तै उज्यालो र आदर्श यात्रामा हिँड्ने आकाङ्क्षा राख्छन् ।